प्रदेश प्रमुखको सन्देश

अार्थिक वर्ष

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । संविधानमा व्यवस्था भए बमोजिम संघ, प्रदेश र स्थानीय तहका सरकारहरु गठन भई स‌ंचालनमा छन् । संविधान मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली संस्थागत भईसकेको अवस्थामा अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैली मार्फत मुलुकको आर्थिक, सामाजिक समृद्धिको यात्रालाई निष्ठापूर्वक निरन्तरता दिई आम जनतालाई आर्थिक, सामाजिक, साँस्कृतिक रुपले समुन्नत पार्ने बेला भएको छ । देशको जातिय, भाषिक, धार्मिक, साँस्कृतिक विविधता बीचको एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सुदृढता र सद्‍भावलाई संरक्षण र सम्बर्द्धन गर्दै नागरिकहरुलाई मौलिक हक तथा अधिकारको प्रत्याभूति, कर्तब्यको पालना तथा राष्ट्र निर्माणको अभियानमा उत्साहपूर्ण सहभागिता जुटाउनको लागि हामी सबै मन, बचन र कर्मले समर्पित हुन आबश्यक छ ।
तीन तहका सरकारमध्ये प्रदेश सरकार सबैका लागि नविन र पहिलो अभ्यास भएकाले सरकार संचालनका लागि सबैको सहयोग आवश्यक छ । सुन्य संरचना र अवस्थाबाट स्थापना भएको प्रदेशको संरचनाहरु क्रियाशील हुँदै संविधानले प्रदान गरेको भूमिका निर्वाह गर्न उद्दत छन् । संघीय सरकारको सद्‍भाव, प्रदेश भित्रका राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, बुद्धिजीवि, सामाजिक क्षेत्रका अगुवा, पेशागत संस्थाहरु लगायत सबैको रचनात्मक सहयोग, सुझाव र भूमिकाबाट जनतालाई अधिकार सम्पन्न बनाउन सकिने भएकाले सहकार्यका आधारमा समृद्ध प्रदेश बनाउन हामी सबै यसतर्फ अग्रसर हुन जरुरी छ । समृद्ध प्रदेशबाट मात्रै समग्र राष्ट्र निर्माणको लक्ष्य पूरा हुने भएकाले यसका लागि प्रदेशबासी सबै नागरिकलाई हातेमालो गर्दै अगाडि बढ्ने वातावरणका लागि सबैमा आग्रह गर्दछु ।
धन्यवाद !